To Go Bamdev (n) : To be extremely euphoric about some event or something to befall you in the near future, which you yourself believe is very less likely to manifest into reality.
अर्थात, वामदेव हुनु भनेको त्यस्तो अवस्था हो जतिवेला मानिसले भविष्यमा घट्ने घटना वा आफ्नो जीन्दगीलाई उथलपुथल नै पार्ने केहि अस्वभाविक घटना या बदलावलाई लिएर बेहिसाब पुलकित हुन्छ, जुन घटना साच्चिकै घट्नेप्रति ऊ आफै त्यति विश्वस्त छैन। त्यै पनि भइ पो हाल्छ कि भनेर मनमनै प्रार्थना गरिरहेको हुन्छ, चाहे ऊ जतिको नास्तिक संसारमै कोहि किन नहोस्।
यो शब्दको उत्पति बुझ्न त्यति गाह्रो नहोला किनकी वामदेव गौतम भनेका नेपाली राजनीतिमा धेरै लामो समयदेखि गुञ्जयमान नाम हो। चाहे इन्टरनेटमा उनी गृहमन्त्री हुँदाको बखत उनले नै जेब्राक्रस देखी देखी डोरी नाघेर रोड काट्न लागेको भाइरल मिम फोटो होस्, या पुराना, अलिक उमेर भएको अधवैंशे मानिसहरुको सर्कलमा नेपालगञ्ज महाधिवेशनबाट तत्कालिन नेकपा (एमाले) पार्टी फुटाउने मुख्य पात्रको रुपमा होस्, वामदेव उत्तिकै चिरपरिचित नाम हो।
यहाँको ‘वामदेव हुनु ‘शव्दावलीको उत्पत्तीको ठ्याक्कै चुरो कुरो फुकाउँदा चाँहि तत्कालिन नेकपा पार्टीमा अध्यक्षद्वय के. पी. वली र प्रचण्डको मनमुटाव हुँदा र अझै प्रचण्डजीलाई नेकपा (एमाले)लाई लामो समय अध्यक्षता गरेका माधव कुमार नेपालले साथ दिँदा, के पी वलीले वामदेव गौतमलाई अगाडी सारेर, प्रधानमन्त्री पदनै छोड्नु परे पनि बरु ती दुईको सट्टामा वामदेव गौतमलाई प्रधानमन्त्री पद छाडेर भएपनि नेकपाको विवाद सुल्झाउँनु पर्छ भन्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए। यस घडीमा वामदेव गौतमलाई कमरेड के पी वलीको नेचर र अभिव्यक्तिको (अ)गाम्भीर्यता थाहा नभएको होइन, हुन त पहिला पनि के पी कामरेडले वहालाई के के ललिपप देखाउँनु भयो, भलै ती पूरा भएनन् होला। यस अर्थमा वामदेव कामरेड वली कामरेडको मजाक भनौ या विषयान्तर गर्ने वहाको अतुलनीय कलादेखि अज्ञात हुने कुरै भएन। तर पनि किन हो किन वामदेव कामरेडलाई यसपाली, ‘यो चाँही होकि के हौ, यो पाला चाई प्रधानमन्त्री नै पो खाइन्छ कि के हौ’ भन्ने मिठो दिवास्वप्नले वेचैन र मिठो छटपटी दिलाएको थियो।
यहाँनिर यो ध्यानमा राख्न जरुरी छ कि उहाँ पनि यो सपना भनौँ या अतृप्त चाहना, साच्चिकै वास्तविकतामा बदलिएला भन्नेमा १०० % विश्वस्त हुनुहुन्थेन, हुन पनि त सक्नु हुन्थेन नि। फेरी कामरेड के पी ओलीले चाहेपछि यो देशमा नहुने के नै होला र? त्यसो त वहाका सहपाठीहरु, जसले वहासंगै लामो राजनीतिक यात्रा तय गरेका छन्, कम्यूनिष्ट होस् या काङ्ग्रेस, प्रधानमन्त्री हुन को नै बाँकी छन् र, उहाँ स्वयं बाहेक!
मैले यत्रो भूमिका बाद्नुको पछाडी कारण के हो भने, ‘वामदेव हुनु’ यो एकजनाको अवस्था हुँदै होइन, यो हामी अधिकाँश नेपालीको मानसिकता हो, हाम्रो कलेक्टिभ प्रवृति हो। हुन त नेपलीहरुका अरु पनि कैयन, कुरा गरि साध्य नहुने थुप्रै अटेरी प्रवृति छन्, लेखकले त्यसलाई अरु नै लेखमा प्रष्ट पार्नु होला।
मैले भन्न खोजेको हामी नेपाली अप्टिमिष्टिक पनि यति अप्टिमिष्टिक छौ कि यो अप्टिमिज्मले हामी हरेक ढुङ्गाबाट शिलाजीत निकालि दिन्छौं।
केहि प्रतिनिधि घटना हेरौं, जस्तो कि नेपाली क्रिकेट टिम विश्वकप खेल्न पाउने गरी छनौट हुने खेल खेल्न गइरहेको छ। अत्याधिक अप्टिमिज्मले मलाई पहिल्यै दुःखी तुल्याई दिन्छ। किनकी जे नतिजा अपेक्षा गरिएको हुन्छ, त्यो नआउँन पनि सक्छ र त्यस घटनापश्चातको नेपाली कुण्ठा र निगेटिभिटीले बजार केहि दिन यसरी ढाक्छ कि साँस फेर्दा नि निसासिएला भन्ने डर। यहि अवस्थाको पूर्वानुमान गरेर म पहिल्यै दुःखी भइदिन्छु्। अव नहोउम पनि कसरी ! जहा गयो, जुन चिया पसल चहार्यो, सरकारी अड्डा पस्यो, या त यसो सोसल मिडीया उघार्यो निगेटिभिटीको पराकाष्ठा चुलिएको हुन्छ।
के गर्ने हामी सवै नेपलीभित्र एक सुसुप्त, अदृश्य वामदेव जो हुनु हुन्छ; केहि हुन भन्दा अगाडी ओभर एक्साइटेड।
ट्रेकिङ्ग कुरा गर्न पाएको हुँदैन, तयारी विनै, मौसमसम्बन्धी कुरै नबुझी, सवसे अगाडी कालो चश्मा अनि काम नलाग्ने जुत्ता लगाएर फोटो खिचाउन तयार हुन्छ, फेसबुकमा त रातीनै पो पोष्ट गरिसकेको हुन्छ।
हल्लाको पछाडी लागेर शेयर किन्यो, महिना दिनमै डबल हुन्छ, करोडपती नै पो भइन्छ कि भनेर। कोहि कोहि होला, सबै थोडी हुन्छ यार। त्यस्तै एक महिना मर्ने लोकसेवाको कक्षा लिएर तयारी गर्यो उपसचिव नै पो भइहालिन्छ कि (यसको उदाहरण चाहि यो बक्लोल लेखक आफै हुन)। यत्रो उपसचिव हुन्छ यार एक महिना घोकेर। समय लाग्छ हो। आज बोट रोप्न पाएको छैन, भोलि नै कहाँ आँप फल्छ। समय लाग्छ।
त्यस्तै सुन्दै नसुनेको देशमा दलालले यति लाख छ रे सेलेरी भन्न पाएको हुँदैन, ऋण कर्जा गरेर, श्रीमतीको तिलरी बेचेर, जग्गा बन्धकी राखेर पैसा र पासपोर्ट चिन्दै नचिनेको दलालको हातमा बुझाउन मरिहत्ते गरिहाल्छ। अनि फुर्सदमा सबैलाई सरापेर बस्छ, फेसबुकको पोष्टमा। यदि तपाईं सुपरक्लोन Replica Rolex को लागि बजारमा हुनुहुन्छ भने, सुपर क्लोन रोलेक्स जाने ठाउँ हो! नक्कली रोलेक्स घडीहरूको सबैभन्दा ठूलो संग्रह अनलाइन!
अहिले नेपाली राजनीतिमा उदाएका केहि नयाँ अनुहारहरुप्रति नेपाली जनताले देखाएको अत्याधिक आशा र विश्वास पनि मलाई यहि वामदेवपनको एक रुप जस्तो लाग्छ। हुन त पहिलेका बुढा-खाढा नेता भनौदाहरुले के नै पो गरे र ? जहिल्यै हेलामा हुर्किएकी एक अनाथ, अनपढ , गरिब गाउले युवतीलाई कोई बिर्खेले काठमाडौंबाट एक सरो कूर्ता सुरुवाल लगिदिएर, मिठो बोलेर, बजारमा एक बोतल कोक खुवाइदियो भने विचरीले किन नखाली र? भलै कोकमा केहि मिसाएको होस् र पछि उसलाई मुम्बईको कुनै कोठीमा सारा जिन्दगी बिताउन परोस्। ती त पछिको कुरा न भयो, वर्तमानमा त यहि सपना नै मिठो लाग्छ।
खैर, आजकाल म विहान-विहानै नियमित पशुपतिनाथको वनकाली जङ्गलतिर भौतारिरहेको हुन्छु। कुनै परमेश्वर, दिव्यज्ञान वा आत्मशान्तीको खोजीमा होइन। मलाई यी कुरामा अलिकता नि विश्वास छैन। न त गाँजा किन्न, न त ती भारतीय डाक्टर युवती जसले थर्मसमा चिया बेचिरहेकि हुन्छिन, तिनीसँग आँखा जुदाउन। म त जान्छु बस मर्निङ वाकमा । ४ः३० बजे विहान निद्रा खुलेपछि म बेचैन हुन्छु, छटपटीले गर्दा ओछ्यानले मलाई बिझाउन थाल्छ, अनि त के चाहियो ! मोबाईल फोनमा स्पोटिफाई र फेभरेट मेटल सङ्गीतको प्लेलिष्ट; ए दौडाउँछ हौ, गज्जब दौडाउँछ।
अनि त्यहा पुगेपछि देखिन्छ विचित्र संसार। एक झूण्ड अर्ली थर्टिज देखि मिड फोर्टिज सम्मका प्राय महिलाहरु, कोहि कोहि त सायद फिप्टिज पनि होलान्, साथै दुइ-चार पुरुषहरु समेत, मस्त जुम्बामा उफ्रिरहेका भेटिन्छन्। कोहि पनि भ्यात्त भुडी र ढाड पछाडी लभ ह्याण्डल नभएका छैनन् तर यसरी उफ्रिरहेका हुन्छन् कि मानौ तिनीहरु एक महिनापछि चीनिया डाइभिङ खेलाडी जस्ता दुब्ला र छरिता हुन्छन्। राम! राम!, हेर्नुहोस त तिनीहरुको सपना भनौँ या भ्रम। अनि एक घण्टाको उफ्राईपछि तिनीहरुलाई पछ्याउँनु पर्छ, कुनै मिठाई वा आइसक्रिम स्टलमा सजिलै भेट्न सक्छ। के गर्नु मनै त हो !
त्यै झुण्डमा छ, एक जना मात्र ११० किलोको मोटे दाइ, खुट्टा उचाल्न त के, शरीर हल्लाउन समेत उनलाई दुइ चोटि लामो साँस फेर्न पर्छ। अनि उनको सपना होला ६ महिनामा ५० किलो घटाउने। हे दैव !
होइन पहिल्यै देखि समयमा खानपान, हल्का नियमित व्ययाम, समयमा उठ्ने र सुत्ने बानी बसाल्ने, चाहिने भन्दा धेरै अस्वस्थ, चिल्लो, मिठो र गुलियो खानेकुरा प्रतिको आशक्त्ति घटाए यति विघ्न वामदेव पारा नै देखाउन पर्थेन नि।
अह, सिकाउने लिडर चाही एकजना लगभग चालिसको दिदी हुनुहुन्छ। उहाँलाई हेर्दा लाग्छ सायद फिल्ममा हिरोइनको रोल गर्ने या केहि म्यूजीक भीडियोमा मोडलिङ गर्ने चाहना थियो होला, जुन विभिन्न कारणले पूरा भएन। तर जे होस सपना टुटिसकेपछि र उमेर ढल्की सकेपछिको यो निःशुल्क जुम्बा गराउने जुन उद्देश्य उहाँले भेट्टाउनु भएको छ, यसले वहाको एक्जिस्टेन्सियल क्राइसिस हटाइदिएको छ। जीन्दगी जीउने एउटा बेजोड कारण दिएको छ। न त कोहि किन विहानै ५ बजे ब्लू टुथ स्पीकर बोकेर बाग्मतीको गनाउँने किनार हुदै उकालो लाग्थ्यो र रातभर लगाएर प्लेलिष्ट बनाउथ्यो।
अलि माथि लाग्न पर्छ, सामूहिक योगमा मग्न अर्को झुण्ड भेटिन्छ। ट्रेनर चाही छन हेर्दै ‘पेडोफाइल’ जस्तो टाउको चिल्लो तक्लु भएका एकजना बक्लोल अंकल, घरि पागल जस्तो अट्टाहास गर्दै हाँस्न लगाउछन्, फेलो योगीहरुलाई, घरि फोक्सो नै फुट्ने गरी साँस फेर्न लगाउँछन्। लाग्छ कि सब रामदेव बाबाको नेपाली सौतेला भाइ बहिनी हुन्। बक्लोलहरु!!!
अर्को हुनुहुन्छ एकजना, रामबहादुर बम्जनको कुम्भ मेलामा छुटेर हराएकी दिदी, रुखमुनि बसेर बेजोड तपस्यामा लीन। उहाँलाई देख्दा त मलाई शाक्यमुनी बुद्धले नि ध्यानमा यति विघ्न इफोर्ट लगाए जस्तो लाग्दैन। खैर वहालाई ब्रह्मज्ञान, आत्मज्ञान सबै प्राप्त होस, ३० दिन भित्र, मेरो प्रार्थना।
पारिपट्टि छन् एकजना नेपाली ब्रुस ली। करातेको पोज जस्तो लात्ती उचाल्दै, स्वा स्वा र हुस् हुस् गर्दै यता र उती मुड्की हानी राख्छन्। वहा चाहि सपना देख्ने कम, पुरानो सपना छोड्न नसकेको दुःखीआत्मा जस्तो लाग्छ। तिमी राम्रो खेलाडी थिएनौ त थिएनौं, छोड देउ यार ती सब अतृप्त चाहाना, अहिले असनमा जे किराना पसल चलाईरहेका छौ त्यसमै रमाउ न, ठिकै छ त। बेकारको कुण्ठा बोकेर!!
जे होस्, यस्तै छौ हामी नेपाली र हामी भित्रको ‘वामदेव’ मानसिकता। सानो कुरामा पनि चाँहिने भन्दा बढ्ता एक्साइटेड हुने अनि अलिक पछि ‘ह्या’ भन्दै फत्फताउने, अरुमाथि कुण्ठा पोख्ने, निगेटिभिटी फैलाउने अजीव प्रजाती।
यो सबै भन्दै गर्दा मलाई माननीय वामदेव गौतमप्रति कुनै व्यक्तिगत गुनासो या अपेक्षा केहि पनि छैन। त्यो वहाको नितान्त व्यक्तिगत स्वभाव हो, त्यसमा हाम्रो केहि लिनुदिनु छैन।